दफा
सूचना प्रकाशित गर्ने

(१) नेपाल सरकारले कुनै रकम वा कुनै अन्य कामको ठेक्का बन्दोवस्त गर्नु परेमा देहायका कुराहरू खुलाई ठेक्का शुरु हुने मितिले कम्तीमा तीन महीना अगावै स्थानीय पत्रपत्रिकामा र ठाउँ ठाउँमा टाँस गरी सूचना प्रकाशित गर्नुपर्छः–

(क) साबिकमा ठेक लागि आएको भए कति रूपैयाँ वा के शर्तमा ठेक लागेको हो सो कुरा, र

(ख) अब जुन शर्तहरूमा ठेक्का दिईने हो सो शर्तहरू ।

(२) ठेक्का बन्दोवस्त गर्नका लागि टेण्डर आमन्त्रित गरिएकोमा उपदफा (१) अन्तर्गतको सूचनामा सो उपदफाहरूमा लेखिएका कुराहरूका अतिरिक्त देहायका कुराहरू समेत खुलाउनु पर्छः–

(क) टेण्डर पठाउने तरीका,

(ख) टेण्डर पठाउनु पर्ने अड्डा, कार्यालय वा अधिकारी,

(ग) टेण्डर बापत चाहिने दस्तुर,

(घ) टेण्डर दाखिल हुनु पर्ने समय र मिति, र

(ङ) टेण्डर खोलिने समय, मिति र स्थान ।

(३) ठेक्का बन्दोवस्त गर्नका लागि बढाबढ वा घटाघट गराईने भएकोमा उपदफा (१) अन्तर्गतको सूचनामा सो उपदफामा लेखिएको कुराहरूका अतिरिक्त देहाएका कुराहरू समेत खुलाउन पर्छः–

(क) बढाबढ वा घटाघट हुने अड्डा, कार्यालय वा अन्य कुनै स्थान,

(ख) बढाबढ वा घटाघट हुने समय र मिति, र

(ग) अन्य आवश्यक कुराहरू ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अपरझटमा कुनै ठेक्का बन्दोवस्त गर्नुपर्ने भएमा वा एकपटक सूचना प्रकाशित गरी टेण्डर दाखिला वा बढाबढ वा घटाघट भैसके तापनि नेपाल सरकारले पुन टेण्डर आमन्त्रित गर्ने वा बढाबढ वा घटाघट गराउने आवश्यक देखेमा वा बीचमा टुटेको कुनै ठेक्कालाई फेरि बन्दोवस्त गर्नु पर्ने भएमा कम्तीमा सात दिनको म्याद दिई सूचना प्रकाशित गर्न सकिनेछ ।